निडर भएर कलम चलाउन अध्यक्ष ओलीको आग्रह

झापा- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।” एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उहाँको आरोप थियो ।

उहाँले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गर्नुभयो । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उहाँको जोड थियो ।

“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो”, उहाँले भन्नुभयो ।

जातीय विभेद समतामूलक समाज निर्माणको बाधक

अध्यक्ष ओलीले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरेर समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल जातीय उत्पीडित समाज झापाले बिर्तामोडमा आज आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव–मानवबीचको विभेद अशोभनीय, अन्यायपूर्ण र गलत भएको भएको बताउनुभयो ।

शिक्षा र आर्थिक अवस्था कमजोर हुँदा मानिस विभेदको शिकार हुँदै आएको उहाँको भनाइ थियो । उहाँले जातीय, वर्गीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद समतामूलक समाज निर्माणको बाधक रहेको उल्लेख गर्नुभयो ।

व्यवहारिकरुपमै जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “त्यसका लागि एमालेले उत्पीडित समुदायका अगुवालाई सङ्गठित गरेर नेपाल जातीय उत्पीडित समाज गठन गरेको हो ।”-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.