आँधीखोलामा झोलुङ्गे पुल : वारपार गर्ने र फोटो खिच्नेको उत्तिकै चाख

स्याङ्जा- स्याङ्जाको गल्याङस्थित आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ नगरपालिकामा वडा नं ७ र ८ बीच  झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणसँगै हेर्दा वारिपारि जस्तो देखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्य ठाउँबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य भएको छ ।

निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको हो । पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समय अगावै सम्पन्न भएको छ । ३६८ मिटर लामो पुल निर्माणका लागि एक करोड ८३ लाख रुपैँयामा ठेक्का सम्झौता भएको थियोे ।

पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहज हुनुका साथै सिद्धार्थ राजमार्गसित पनि सम्पर्क जोडिएको छ ।

पुलको अभावमा एक घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याउनका लागि पुल निर्माण गरिएको गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले बताउनुभयो ।

आव २०७६-७७ मा बजेट विनियोजन पश्चात् डिपीआर भई बोलपत्र आह्वान गरेर निर्माण थालिएको उहाँले जानकारी गराउनुभयोे ।

पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि बनेको छ ।

पुल निर्माणसँगै अहिले सामाजिक सञ्जालमा तस्वीर राख्ने, टिकटक बनाउनेहरु बढ्दै गएका छन् ।

यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरसम्म दर्शनार्थीलाई पुग्न पुलले सहयोग पुर्‍याएको स्थानीय बताउँछन।

पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि टेवा पुगेको छ । यसका साथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रबर्धनका लागि पूर्वाधार थप गर्दै लैजानुपर्ने स्थानीयको सुझाव छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.