आयुर्वेदिक औषधि, उपचारप्रति बिरामीको आकर्षण बढ्दो

दार्चुला– दार्चुलामा आयुर्वेदिक औषधि र उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेकोे छ ।

अहिले दैनिक जसो २० देखि ३० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ । प्रायःजसो सुनसान रहने आयुर्वेद संस्थाहरू देश संघीयतामा गई सकेपछि यसमा सरकारको लगानी तथा जनताको पहुँच बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको संख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख रंगलाल महतले बताउनुभयो । घरेलु रुपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु पनि आजभोलि आयुर्वेद स्वास्थ्य केन्द्र आइपुग्ने गरेका छन् ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार स्वास्थ्य समस्या लिएर आउनेमा ग्याष्ट्रिक, बाथरोग, कब्जियत, पायल्स, हातखुट्टा दुख्ने, रूघाखोकीजस्ता रोगीका बिरामी रहेका छन् । गत आर्थिक वर्ष ०७८÷०७९ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट १० हजार ५ सय २६ जनाले सेवा लिएका छन् । जसमा महिला ५ हजार १ सय ४२ जना र पुरुष ५ हजार ३ सय ८४ जना रहेका छन् । यो तथ्यांक गत विगतका वर्षहरुभन्दा बढि हो । जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिका र लेकम गाउँपालिकामा गरी ४ वटा नागरिक आरोग्य सेवा केन्द्रहरुबाट स्थानीय सेवाग्राहीले सेवा पाइरहेको र सबै स्थानीय तहमा आयुर्वेद सेवा सञ्चालनमा रहेको जनाइएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारण बिरामीहरु नागरिक आरोग्य सेवा केन्द्रहरुबाट सेवा लिइरहेका छन् ।

कार्यालयले स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी जस्तै कालो हलेदो, ऐरेन्ट आदिको प्रयोग गर्दै स्टिम वाथ संचालनमा ल्याई उपचार गरिरहेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा महिला बिरामीको लागि महिला अभ्यंगकर्ता र पुरूष बिरामीको लागि पुरूष अभ्यंगकर्ता कर्मचारीबाट स्टिम वाथ सेवा प्रदान गरिन्छ ।

पछिल्लो समय कार्यालयले ल्याव सेवासमेत सञ्चालनमा ल्याएको छ । त्यहाँ आउने बिरामीहरुको निःशुल्क ल्याव परिक्षण गरी आयुर्वेदिक आौषधिहरू प्रदान गर्ने गरिएको छ । कार्यालयले नियमित बिरामी चेकजाँच, विशेषज्ञसहितको निःशुल्क आयुर्वेद शिविर, विद्यालय आयुर्वेद कार्यक्रम, योग शिविरहरू संचालन गरी सेवा दिदै आइरहेको निमित्त कार्यालय प्रमुख महतले बताउनुभयो ।

यस्तै स्वस्थ जीवन कार्यक्रमअन्तर्गत प्रत्येक दिन जिल्ला सदरमुकामस्थित विकास संगठनको हलमा योग प्रशिक्षकबाट योगका प्रोटोकलहरू सिकाइने उहाँले बताउनुभयो । योगका प्रोटोकल समापनपछि कार्यक्रममा सहभागी सबैलाई एक क्याप्शुल शिलाजितसहित अमृत चिया पनि पिलाउने गरिएको छ । साथै प्रत्येक शनिवारको दिन प्राविधिक कर्मचारीबाट सहभागीहरूको मधुमेह, रक्तचाप, वजन आदिसमेत चेकजाँच गर्ने गरिएको छ । केन्द्रले अहिले दैनिक बिरामी चेकजाँच, पन्चकर्म तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.