नेपाली काव्यविधाका प्रयोगबारे विमर्श

नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगका बारेमा विमर्शको थालनी गरेको छ ।

विगभाद्वारा शुक्रबार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममाा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमा प्रयोग हुन्छ तर त्यसको सार्थकतापछि गएर ग्रहणशीलतामा हुन्छ भन्नुभयो । उहाँले यसमा स्थायित्व हुनु महत्वपूर्ण कुरा हो भन्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले प्रतिष्ठानले साहित्यका क्षेत्रमा उठ्ने विभिन्न समस्या वा विवादका विषयलाई एक ठाउँमा राखेर छलफल गराउने र समाधान निकाल्ने प्रयास गरेको जनाउनुभयो । विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली कविता विधामा भइरहेका प्रयोगले नेपाली कविता÷काव्य विधालाई समृद्ध बनाउने विचार व्यक्त गर्नुभयो । गोष्ठीमा डा यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै हालसम्म कविताका विधामा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेन्यु, सेदोकाक, रुबाइ, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्रा, छोक, कुट पद्य, सायरी, दोहा, सोरठा, चौपाइ, आल्हा, पुरबी, केस्रा, खिचडी, यग्मक, आगो, शीत, तियाली, पञ्चाङ्ग आदि गरी ३६ वटा उपविधा आएको बताउनुभयो । उहाँले कविताका ती लघुतम विधा तथा उपविधाको उत्पति, प्रयोग, प्रयोक्ता, वर्तमान अवस्था र भविष्यका बारेमा समेत उल्लेख गर्नुभएको थियो ।

डा निरौलाको गोष्ठीपत्रमाथि परिपूरक समीक्षा गर्दै समालोचक प्रा डा भरतकुमार भट्टराईले हामीले थालेका अभियान वा प्रयोगले इतिहास बनाउन र प्रयोक्ताहरू जन्माउन सकेमा मात्रै यसको सार्थकता पुष्टि हुने विचार व्यक्त गर्नुभयो । डा विन्दु शर्माले कति विधा स्थापित भए र कति हुने क्रममा छन् भन्ने विषयमा गोष्ठीले टेवा पुग्ने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.