लिगलिगकोट–गोरखा दरवार म्याराथनमा नेपाली सेनाका तीर्थबहादुर पहिलो

गोरखा– प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा नेपाली सेनाको भवानी दल गणका तिर्थबहादुर तामाङ प्रथम हुनु भएको छ । शनिबार भएको लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दुरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो हुनुभएको हो । उहाँले नगद १ लाख ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

भारतीय सेना अनिश थापा मगर द्धितीय हुनुभयो । निर्धारित दुरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उहाँले नगद १ लाखका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै, निर्धारित दुरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतीय हुनुभएको छ । उहाँले नगद ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो,नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाचौं,सोलुखुम्बु महाकुलुङ्ग १ का अर्जुन राई कुलुङ्ग छैठौं, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौं, गोरखाको सिरानचोक गाउँपालिका ५ का अशोक बराम आठौं, भुपुसैनिक रैबतबहादुर दाहाल नवौं र महाविर सौर्यगणका विमल खड्का दशौं स्थान हासिल गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा चौथो, पाचौं, छैठौं, सातौं, आठौं, नवौ र दशौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए । प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङसम्मको दुरी तय गरिएको थियो । नेपाल निर्माणको उत्पत्तिस्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको प्रतियोगिताले इतिहासको संरक्षण र प्रबद्र्धनमा सहयोग पुगेको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.