पर्यटकलाई लोभ्याउँदै सुन्दर जौबारी (फोटो फिचर)

इलाम (जौबारी)- हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिने क्षेत्र हो इलामको जौबारी । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका ५ र माई जोगमाई गाउँपालिका २ मा अवस्थित छ ।

मोति झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न सकिने जौबारी पछिल्लो पटक नेपाल र भारतका पर्यटकहरुको गन्तव्यस्थल बनेको छ । त्यसो त जौबारीमा भारतीको दार्जिलिङ भएर सन् १९२०देखि नै पर्यटकहरु आउन शुरु गरेका थिए । कलकत्ताको गर्मी सहन नसकेका ब्रिटिस शाशनकालका प्रतिनिधि र सैनिकहरु जौबारी हुँदै अहिले प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुग्ने गरेको जौबारीको वयोवृद्ध थुक्तेन लामाले बताउनुभयो । हिउँदमा हिउँ र वर्षातको झरी जौबारीमा पर्यटक तान्ने आधार हुन् । छिनछिनमा परिवर्तन हुने मौसममा रमाउन पुगेका पर्यटकलाई बिहानीको सुर्योदय र चाँदी झै टल्कने हिमालमा घाँमको किरण ठोकिएको दृश्य कैद गर्न भ्याइनभ्याइ हुन्छ । वर्षातसँगै बाक्लो हिमपात परेपछि जौबारीमा हिउँ खेल्ने आन्तरिक पर्यटकहरुको भिड नै लाग्छ ।

हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारीले हरेकको मन लोभ्याउँछ । भारतीय सीमा क्षेत्रबाट नजिकै रहेको जौबारी बजार प्रदेश नम्बर एककै प्रमुख गन्तव्य सन्दकपुरतिर लम्किएका पर्यटकको बास बस्ने रमणीय स्थल हो ।

चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय शेर्पा, तामाङ, राई र गुरुङ्ग जातीको परम्परागत संस्कृति र रसहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका हजारौँ पर्यटकहरु वर्षेनी यहाँ आउने गरेको माइजोगमाइ गाउँपालिका अध्यक्ष कुसबहादुर थेवेले बताउनुभयो ।

सीमा क्षेत्रको जौवारीले भने अहिले अर्को पहिचान स्थापित गराएको छ । नेपाली किसानलाई आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पु¥याउने हेतुले नेपाल सरकारले दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबालि तथा बागबानि विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र बनेको सन्दकपूर गाउँपालिका अध्यक्ष तुला गुरुङ्गले बताउनुभयो ।

लामो समय सरकारी उदासिनताले उजाड र खण्डहर बनेको आठ हजार ४ सय ४५ रोपनीमा फैलिएको आलु विकास क्षेत्र हाल आएर हराभरा बन्दै छ । हुस्सु र भुई कुहिरो लुकामारि खेल्ने जौबारी र तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप र पसिना बगाउने कर्मथलो बन्दै गएको छ । अहिले सन्दकपूर गाउँपालिका र माईजोगमाई गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएका छन् ।

सन्दकपुर गाउँपालिका वडा नं ५ को जमुना इङ्ला र माईजोगमाई २ को आहालभञ्ज्याङ्ग क्षेत्रका जंगल विश्वमै दूर्लभ रेडपाण्डा हाब्रे पाइने चर्चित ठाउँ हो । रेडपाण्डाको अध्ययन अनुसन्धान र अवलोकनमा वर्षेनी वन्यजन्तु विद् र सयौँ पर्यटकहरु अहिले चोयाटर वनमा आउने गरेका छन् । रेडपाण्डा अध्ययनकै लागि अर्को उत्तिकै प्रख्यात ठाउँहरु माबुको दोबाटे जंगल र कैयाकट्टा क्षेत्र पनि हो ।

रेडपाण्डा पर्यटन प्रवर्द्धनले क्रमश: ती क्षेत्रहरु अहिले पर्यटन मैत्री गाउँहरु बन्दै गएका छन् । यहाँ खोलिएका होमस्टे ग्रामिण होटेलहरु पर्यटकहरुलाई सेवा र सुविधा त दिएकै छ यस बाहेक मनेग्य आर्थिक आर्जन गर्दै आएका छन् ।

सन्दकपुर गाउँपालिकाको लेकाली क्षेत्रमा लोपउन्मुख गिद्ध, लामपुछ्रे मुनाल, काँडे भ्याकुर र तल्लो बेसी क्षेत्रमा कालिज, धनेसबाज, गरुड कोकले लगायत दर्जनौ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छ ।

भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र भएकाले सन्दकपुर गाउँपालिकाको माथिल्लो क्षेत्रमा वन्यजन्तु र चराचुरुङ्गीहरु आरक्षण क्षेत्रबाट सहजै आउजाउ र बसोबास गर्ने गरेका छन् ।

सन्दकपुर वडा नं ५ को जौबारी र तालपोखरी क्षेत्रमा विगत ५ वर्ष अघि पुनःस्थापना गरिएको नार्क र बागबानि केन्द्रले उन्नत जातका कृषि उपजको बिउ बिक्री वितरण सुरु गरेपछि यहाँबाट बिउ लैजाने तथा अध्ययन अनुसंन्धान र कृषि अवलोकन भ्रमणमा आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हिउँ र हुस्सु कुहिरो अनि चाँधि झै टल्कने हिमालमा रमाउन आइपुगेका भारतीय पर्यटकहरुलाई जौबारीबासीले न्यानो स्वागत गर्छन् । भारतको विभिन्न राज्य र युरोपका देश र आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।

पर्यटकको संख्या बढेपछि नेपालका तीनै तहका सरकारले अहिले पूर्वाधारमा जोड दिएका छन् । तीन तहका सरकारमध्ये १ नम्बर प्रदेश सरकारले सडक, खानेपानी, पदमार्ग र प्रचारप्रसारका काममा सबैभन्दा बढी लगानी गर्दै आएको छ । १ नम्बर प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले जौबारीमा बढी पूर्वाधारका योजना कार्यान्वयन गर्ने तयारी रहेको बताइन् । पर्यटकको संख्या बढेपछि नेपाल सरकारले पछिल्ला ५ वर्षमा सुरक्षा अवस्था पनि सुदृढ बनाउन सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । नेपाल प्रहरीको प्रहरी चौकी पछि जौबारीमा रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.