‘नेपाल चिनाउने अभियान’- नेपाल टेलिभिजनसम्म

काठमाडौँ-  गोरखाका ईश्वर अर्याल अहिले स्कुल-स्कुलमा नेपालको नक्सा बाँड्दै हिँड्नुहुन्छ ।

कुनैबेला नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा सेवा गर्नुभएका अर्याल अहिले जागिरबाट राजिनामा दिएर सामाजिक काममा लाग्नुभएको हो । सामाजिक काम पनि नापी विभागले निकालेको नेपालको आधिकारिक नक्सा विद्यालयहरुमा बाँड्ने नै हो ।

अहिले आफ्नो सबै समय विद्यालयहरुमा जाने र नेपाललाई चिनाउने अभियानमा हुनुहुन्छ-ईश्वर अर्याल । उहाँले अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयहरुमा नेपालको नक्सा निशुल्क उपलब्ध गराइसक्नुभएको छ ।

नेपालको काठमाडौँ, ललितपुर, धादिङ्ग, नुवाकोट, गोरखा, मकवानपुर र रुपन्देही जिल्लका धेरैजसो सार्वजनिक विद्यालयमा उहाँले नक्शा बाँड्नुभएको मात्र छैन, सामाजिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपालको नक्सा बनाउन र विभिन्न ठाउँहरु चिनाउन पनि उहाँले कक्षा कक्षामा सिकाउनुहुन्छ ।

अर्यालको यो अभियानलाई गोरखा कै रामप्रसाद खनाल, हरि चन्द्र तिवारी र काठमाडौँ कालधाराका महेन्द्र अर्यालले सघाइरहनुभएको  छ। रामप्रसाद खनाल नागर्जुन नगरपालिका वडा नं १ का जननिर्वाचित प्रतिनिधि पनि हुनुहुन्छ ।

नक्सा नै बाँड्ने अभियान भने आफ्नै घरको सानो घटनाक्रमले शुरु गराएको सम्झनुहुन्छ अर्याल । आफू नक्सा बनाउने अड्डामा काम गर्ने तर घरमा छोराले भने नक्सा बनाउँदा नमिलेको देखेपछि अर्याल अब आफ्ना छोरा जस्ता सबै छोराछोरीलाई नेपाल चिनाउनुपर्छ भनेर लाग्नुभएको स्मरण गर्नुहुन्छ ।

अर्याल भन्नुहुन्छ- ” स्कूले बच्चाले सानैदेखि देशको भूगोलबारे थाहा पाओस् र देशलाई मायाँ गर्न सिकोस् भनेर म र साथीहरु मिलेर यो अभियान शुरु गरेका हौँ।”

अर्याल र उहाँका सहयोगीहरुले नेपालको नक्सा बाँड्ने अभियान शुरु गरेको ७१ दिन भयो । अर्याल भन्नुहुन्छ- “अझै यो अभियान देशव्यापी बनाउँछौँ ।”

नापी विभागबाट नक्सा किनेर बाँड्दा उहाँ आँफैले यो खर्चको जोहो गरिरहनुभएको छ। अहिलेसम्म उहाँले करिव १२ हजार प्रति नक्सा किनेर बाँडिसक्नुभएको छ।

नक्सा बाँड्ने र नेपाल चिनाउने अभियानमा लाग्ने क्रममा अर्यालसहितको टोलीले नेपाल टेलिभिजनमा पनि आएर नक्शा वितरण गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह र महाप्रबन्धक फुलमान बल तामाङ र व्यापार महाशाखाका निर्देशक राजकुमार थापालाई उहाँहरुले नेपालको नक्सा संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.