हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भयो : अध्यक्ष अन्सारी

काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

बिहीबार मुस्लिम आयोगको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आयोगले नेपालीहरूको महान् चाड बडा दशैँ एवम् शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘‘हामी सबै नेपाली हौँ, मानव हौँ । समग्र देशको, नेपालीको हितको काम हामी सबै मिलेर गर्नुपर्छ । हामी कहीँ कतै सुन्छौँ मुस्लिम–हिन्दुको झगडा भयो रे, त्यो कुनै हिन्दु–मुस्लिमको कुनै द्वन्द्व भएको होइन, केह तत्त्व र घुसपेठियाहरुको काम हो । जुन हाम्रो सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउने प्रयास भएको छ ।’’

नेपालका केही जिल्लाहरूमा हिन्दु–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको अध्यक्ष अन्सारीको धारणा छ ।

उहाँले हिन्दु–मुस्लिमबीच झगडा नभई प्रतिगामी तत्त्वहरूले धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाउनुभयो । अन्सारीले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरू मिलेर बसेको देश हो । हिन्दु समुदायको महान् पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ । यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो । जुन हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा टेवा पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौँ ।’’

अध्यक्ष अन्सारीले नेपाल बहुभाषी, बहुजाति र बहु सांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने बताउनुभयो । आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरूले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.