ईयुको प्राविधिक टोली आउँदै, कालोसूचीमा हट्ने विश्वास

काठमाडौं– नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैँलगत्तै इयुको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यही असोजको अन्तिम हप्ता उक्त टोली नेपाल आउन लागेको जानकारी दिनुभयो । नेपालले पछिल्ला दिन हवाई सुरक्षादरमा वृद्धि गरेकाले इयुको सुरक्षा सूचीबाट हट्ने सम्भावना रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपाल ग्लोबल एभरेजभन्दा माथि रहेकाले इयुको सो टोलीको अडिटपछि सुरक्षा सूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउने प्रवक्ता निरौलाले बताउनुभयो ।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओ ले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखे पछि नेपाली वायुसेवाले युरोपेली आकाशमा उडान भर्न पाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.