दसैंमा उपत्यकामा घटना/दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं- काठमाडौँ उपत्यकामा बडादसैँको फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सातजनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार पैदल यात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री बडादसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकाको सवारीसाधन व्यवस्थापनमा दिनरात नभनी ट्राफिक प्रहरी सडकमा खटेकाले तुलनात्मक रुपमा यस वर्ष धनजनको क्षति कम भएको बताउनुहुन्छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन भने बालबालिकाका साथ टीका जमरासहित आ–आफ्नो निवास तथा आफन्तजनकहाँ पुग्न दौडधुप गरिरहेका देखिन्छन् । बडादसैँमा विशेष गरी फलफूलको व्यापार बढेको पाइयो । आफ्ना मान्यजनको हातबाट टीका थाप्न जाने अधिकांशले गच्छेअनुसार फलफूल बोकेको पाइयो ।

प्रयोगकर्ता बढेका कारण खासगरी ट्याक्सीतर्फ सर्वसाधारणको ध्यान बढी गएको देखिन्छ । सडकबजारका प्रमुख चोकमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लने र चढ्ने यात्रुको सङ्ख्या उल्लेखनीय छ । आज बिहान काठमाडौँ उपत्यकाको मौसममा सुधार भए पनि दिउँसोदेखि बादल लाग्नुका साथै सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले आज पनि वर्षा हुने जनाएको छ । विजया दशमीको दिन रातिदेखि बिहीबार दिनभर काठमाडौँ उपत्यकामा झरी परेको थियो । आज दिउँसोसम्म मौसम सफा रहेकाले चहलपहल ह्वात्तै बढेको थियो ।

यहाँबाट बाहिरिनेको तुलनामा काठमाडौँ उपत्यकामा भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्या बढ्न थालेको कलङ्की चोकमा खटिएका ट्राफिक प्रहरी हबल्दार मेखराज खत्रीले जानकारी दिनुभयो । वर्षासँगै पहिराका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडकखण्ड बन्द हुने र खुल्ने÷खुलाउने क्रम जारी रहेको बाँडभन्ज्याङ प्रहरी कार्यालयले जनाएको छ ।

यस वर्ष बडादसैंका अवसरमा काठमाडौँ उपत्यकामा सामन्यबाहेक जघन्य एवम् ठूला प्रकृतिका चोरी, लुटपाटका घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.