रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने यु–१८ टिमको बिदाइ
काठमाडौं- सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ गरिएको छ । सोमबार रोबोटिक्स एशोसिएशन लगायतका सम्बन्धित संघसंस्थाले नेपालको तर्फबाट प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीहरुको बिदाइ गरेको हो ।
यु १८ को नेपाली खेलाडी टिमले स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा भाग लिनेछ । यो प्रतियोगिता असोज २७ गतेबाट ३१ गतेसम्म सञ्चालन हुनेछ ।
विभिन्न समयमा गराउने विद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिम बनाएको एसोसिएसनका सह सचिव ओमकार जैसवालले जानकारी दिनुभयो । उनले यस पटकको रोबोटिक्स प्रतिस्पर्धामा कुनै न कुनै टाइटल लिएर आउने समेत बताउनुभयो।
खेलाडी संकल्प भट्टराईले यसपटक जलवायु परिवर्तनसँग सम्बन्धित कार्बन क्याप्चर भन्ने थिम रहेको र प्रतिष्पर्धाका लागि रोबोटका कामहरुलाई पूरा गर्न आफ्नो लक्ष्य रहने बताउनुभयो ।
नेपालले सन् २०१८, २०१९ र २०२० र २०२१ को प्रतिस्पर्धामा भाग लिएको छ । सन् २०२२ को प्रतिस्पर्धामा भौतिक उपस्थिति जनाउँदैछ । सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो । नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को प्रतिस्पर्धामा ९५ औं स्थानमा थियो । प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समा सहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै खालको रोबोकिट उपलब्ध गराइएको रिया शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्