नेपाल लोकतन्त्र संस्थागत गर्ने मार्गमा : राष्ट्रपति

रेक्याभिक- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाजको निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाउनुभएको हो ।

महिला नेतृत्वको विश्वव्यापी मञ्चमा आमन्त्रित गर्नुभएकामा आयोजकलाई धन्यवाद व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले हामीलाई ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको उल्लेख गर्नुभयो । उहाँले भगवान् गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको जनाउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वले कैयन चुनौती सामना गर्नुपरेका सन्दर्भमा महिलाको दृष्टिकोण निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा मुखरित हुनु अपरिहार्य बनेको उल्लेख गर्नुभयो । नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको अनुभव पनि सम्मेलनमा राष्ट्रपति भन्डारीले सुनाउनुभयो ।

यसैबीच, राष्ट्रपति भण्डारीले महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ पनि ग्रहण गर्नुभएको छ ।

सम्मेलनको चौथो दिन आज नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारे वृत्तचित्रमा चित्रण गरिएको छ । वृतचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयन सम्बन्धमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.