भावी सरकार गठनको गृहकार्य : कांग्रेस–माओवादी आन्तरिक छलफलमा

काठमाडौं– निर्वाचन आयोगले चुनावी परिणाम घोषणा गरेसँगै प्रमुख दलले नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका छन् ।

चुनावबाट ठूलो दल भएको नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रले सरकार गठनको गृहकार्य सुरु गरेका हुन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नै नवनिर्वाचित सांसदहरुलाई बालुवाटारमा शुभकामनाका लागि बोलाएर भावी सरकारको नेतृत्वको सांकेतिक तयारी गर्नुभएको छ ।

कांग्रेसले चुनावी समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार नै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले नयाँ सरकारको तयारीसँगै संसदीय दलको नेता चयन गर्ने गृहकार्य गर्दैछ । दलको नेताका लागि सभापति देउवासँगै नेताहरु डा. शेखर कोइराला र गगन थापाको दाबी छ ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि आगामी सरकार गठनबारे छलफल सुरु गरेको छ ।

पार्टी सचिव गणेश साहले निर्वाचनको परिणाम पूर्ण रुपमा आइसकेको अवस्थामा भावी रणनीतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले पहिलो कार्यकालको प्रधानमन्त्री बन्न चाहना राख्नुभएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले भने पुस ५ गतेपछि मात्रै भावी सरकार, चुनावी समीक्षा लगायतका विषयमा छलफल गर्ने नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।

निर्वाचनमा दोस्रो ठूलो दल एमाले र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भावी सरकारको नेतृत्व र सहभागिताबारे औपचारिक छलफल सुरु गरेका छैनन् । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.