राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकताको प्रमाणपत्र अनुसार, उहाँको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.