उत्तरगयाधाममा पितृ तर्पन गर्नेहरुको घुइँचो (फोटो फिचर)

रसुवा– रसुवा र नुवाकोटको संगमस्थल वेत्रावती स्थित उत्तरगयाधाममा आज पौषे औंसीका दिन पितृ तर्पन गर्नेहरुको बिहानै देखि घुइँचो लागेको छ । शुक्रबार बिहानै बाट हजारौं भक्तजनहरु धार्मिक एवंम पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणी स्थल बेत्रावतीमा आई पौषे औँशीको दिन दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिदै पितृ तर्पनको कार्य गरेका हुन् ।

उत्तरगयाधाममा हरेक बर्ष पौषे औंसीका दिन हजारौले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बालेका छन् ।

उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ । देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनबिश्वास रहेको छ ।

आजैका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने गर्दछन् । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गया मध्ये एउटा गयाको रुपमा पिण्ड दान गर्ने चलन छ ।
श्राद्ध गर्नका लागि रसुवा सहित नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका जिल्ला बाट मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.