राष्ट्रपति भण्डारीद्वारा ब्रम्हा प्रतिमाको उद्घाटन

काभ्रे – राष्ट्रपति विद्यादेवि भण्डारीले जिल्लाको बनेपा नगरपालिका वडा नं ४ स्थित नालामा नवनिर्मित दश अवतार सहितको ब्रम्हा प्रतिमाको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शनिबार ब्रम्हा प्रतिमाको उद्घाटन गर्नुभएको हो ।

ब्रम्हा प्रतिको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदैं राष्ट्रपति भण्डारीले पर्यटकीय क्षेत्रको रुपमा परिचित काभ्रेलाई नवनिर्मित ब्रम्हा प्रतिमाले पर्यटन विकासमा थप टेवा पुग्ने बताउनुभयो । जिल्लामा निर्माण भएको नेपालकै पहिलो ब्रम्हा प्रतिमाले यस जिल्ला र क्षेत्रको नयाँ परिचय दिएको उहाँले बताउनुभयो ।

हाम्रो परम्पराको जिवन्त पक्षलाई संरक्षण गरी समयानुकल बनाउँदै भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार, नेपालको पर्यटन विकासका लागि काभ्रे जिल्लाको आफ्नै महत्व रहेको हुनाले नेपाल आउने पर्यटकहरु बसाई लम्भ्याउन नयाँ क्षेत्रमा पर्यटकहरुलाई आकर्षण गराउन जरुरी रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

यस क्षेत्रमा निर्माणमा भएको ब्रम्हा प्रतिमाले नेपाललाई विश्वमा विशिष्ट स्थान रहेको पक्षलाई समेत उजागर गर्दै लैजाने कार्यमा ध्यान दिन सबैलाई उहाँले आग्रह गर्नुभयो । हाम्रो सभ्यता र संस्कृतिसँग अभिन्न रुपले जोडिएका मठमन्दिर र परम्पराहरु कयौं वर्षदेखि निरन्तर चल्दै आएको हुनाले प्रकृति र संस्कृतिको अतुलनिय संगम बनेको बताउनुभयो ।

९१ रोपनी सार्वजनिक जग्गामा संरचना तयार भएको विश्वको तेश्रो, नेपालको पहिलो दश अवतार सहितको ३० फिट अग्लो ब्रम्हा मन्दिर निर्माण सम्पन्न भएसँगै राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

दुई वर्ष अघि स्थानीयहरुले महायग्य लगाएर सुरु गरेको मन्दिरमा पुष २१ र २२ गते गरिएको प्राण प्रतिष्ठापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएको थियो । विश्वमै धार्मिक र सांस्कृतिक क्षेत्रका हिसाबले समेत थप परिचित बनाउने उद्देश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रम्हा मन्दिर निर्माण गरिएको महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरोषत्तम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २०७१ साल मंसिर १४ गते तत्कालीन समितिले बृहत्त रुद्रायाग शैव महायज्ञ लगाउने कार्यमा ब्रम्हा प्रतिमा सहित विष्णु भगवानका दश अवतार बनाउने परिकल्पना २०७९ सालमा स्केच गरिएको थियो। यो योजनालाई गुरुयोजना सहित समावेश गरी महायज्ञ मार्फत कार्य योजना निर्माण गरी थप कार्य प्रारम्भ भएको थियो ।

पार्क सहितको दश अवतार भएका ब्रम्हाको ३० फिट अग्लो मुर्ति प्रतिस्थापनका लागि स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रम्हा मन्दिर सँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको सचिव सापकोटाले बताए । उनका अनुसार, विश्व शान्ति र कल्याणको कामना गर्दै बृहत रुद्रयाग (शैव महायज्ञ) एबं शिव महापुराण सहितको यज्ञानुष्ठान गरिएको हो ।

‘नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गरिएको छ, विधिवत रुपमा यसको प्राण प्रतिष्ठाको तयारी गरिएको छ’ समाजका सचिव श्याम सापकोटाले भन्नुभयो, ‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको थियो ।’

ब्रम्हा प्रतिको उद्घाटन समारोहमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा, बनेपा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, महादेव खोला ब्रम्हायणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरोषत्तम सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.