मन्त्रिमण्डलमा बसेर संघीयता खारेज गर्नुपर्छ भन्ने मन्त्रीलाई स्पष्टीकरण सोधिन्छः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता खारेज गर्नुपर्छ भन्ने मन्त्रीलाई स्पष्टीकरण सोधिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्मा नै एक मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर सुनाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो स्पष्टीकरणको बिषय हुने बताउनुभएको हो ।

मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दलहरुलाई रहेको तर मन्त्रिमण्डल भित्र बसेर संघीयता, लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपमा र कानूनी रुपमा कसैलाई नरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा स्वायत्त क्षेत्र, बिशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यबस्था पनि रहेकाले ऐनको अभावमा कार्यान्वयन हुन नसकेकोले सो कुरा उचित नभए त्यसलाई संशोधन गर्ने अधिकार संसदलाई रहेको तर सहि भए ऐन बनाएर कार्यान्वयन गराउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अघि बढाउने काममा सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

त्यसअघि प्रतिवेदनमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले सिंहदरबारको अधिकार गाउँमा पुगेकाले संघीयताको मर्म र भावनाअनुरुप अभ्यासमा लैजानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन यसअघि आफुले बुझ्दै सिफरिस खण्ड कार्यान्वयन गर्न निर्देशन दिएको भन्दै निर्देशनको प्रगति विवरण पेश गर्न निर्देशन दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.