परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले हिजो साँझ राष्ट्रपति विक्रमासिङ्घेसँग भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गर्नुभएको थियो ।

साथै मन्त्री पौड्यालले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहनुभएका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।

ती देशहरूका विदेशमन्त्रीहरूसँगको भेटमा उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा जोड दिनुभएको मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काकाको भ्रमण पूरा गरी आज स्वदेश फर्कर्नुहुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.