सरसफाई अभियानमा प्रतिबद्धता जनाउन मानव साङ्गलोको आयोजना (तस्वीरमा)

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो सहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियानको १००औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो सहित सरसफाई गरिएको हो ।

अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

योगिकुटीदेखि कोटिहवाको १२ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक-आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए ।

मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ ।

सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । स्मारकका पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ ।

स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उपप्रमुख चौधरीले तिलोत्तमाबासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रेय नगरबासीमा जाने बताउनुभयो ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । यो अभियानलाई २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि निरन्तरता दिएपछि यो एक सयौं श्रृखंलामा पुगेको हो ।

चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.