आगामी चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ । चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गर्नुभएको छ ।

संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीको पत्र आएको जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा अघिल्लो सत्ता गठबन्धन टुटेपछि सरकारमा सामेल दलहरु समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।

सत्ता सहकार्यमा रहेको दलको समर्थन फिर्ता भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले छोटो अवधिमा नै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन फिर्ताको मितिले चैत १२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा प्रधानमन्त्रीसँग छ ।

यसअघि पुस २६ गते पहिलो पटक प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको थियो । पहिलो पटक नेकपा (एमाले)लगायतका दलको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले झन्डै ९९ प्रतिशत मत पाउनुभएको थियो ।

एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ । तर प्रधानमन्त्री प्रचण्डलाई यो पटक सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ छ ।

अघिल्लो पटक सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन यथावत् छ । राष्ट्रपति चुनावको दौरानमा बनेको गठबन्धन अहिले विस्तार भएर १० दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.