गायन र नृत्यका संसारभरका नेपाली प्रतिभा काठमाडौँमा, साइटलेस अडिसन शुरु

काठमाडौँ-  मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा प्रतिष्पर्धा गर्नका लागि विश्वभरबाट छानिएका नेपाली कलाकारहरु काठमाडौं आइपुगेका छन् ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा शुरु साइटलेस अडिसनमा भाग लिन विश्वभरका नेपाली प्रतिभा काठमाडौं आएका हुन् ।

फाउण्डेसनका अनुसार, गायनतर्फको साइटलेस अडिसन चैत्र १९ गते देखि शुरु भएको छ ।

यो अडिसनमा जजहरुले प्रतिष्पर्धीहरुलाई देख्न पाउँदैनन् भने प्रतिष्पर्धीहरुले पनि छनौटमा नपरेसम्म जजहरुलाई देख्न सक्दैनन् ।

गायनतर्फ १ सय ४० र नृत्यतर्फ १ सय २० नेपाली प्रतिभाहरु फिल्ड अडिसनबाट छनौटमा परेका छन् । यीमध्ये अधिकांश प्रतिभाहरु काठमाडौं आइपुगेको फाउण्डेसनले जनाएको छ ।

अमेरिका र क्यानडाको फिल्ड अडिनस अमेरिकामा, युरोपको बेल्जियममा, मध्यपूर्वको दुवाईमा, पूर्वी एशियाको बैंककमा, अष्ट्रेलियाको सिड्नीमा र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसनहरु सम्पन्न भएका थिए भने नेपालका बुटबल, नेपालगञ्ज, दमक र काठमाडौंमा फिल्ड अडिसनहरु भई प्रतिभा छनौट गरिएका थिए ।

गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट ५, अष्ट्रेलियाबाट ७, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट ८ जना, मध्यपूर्वका खाडी मुलुकहरुबाट ७ जना, भारतबाट ३३ जना, नेपालको नेपालगञ्जबाट ७ जना, बुटबलबाट ९ जना, दमकबाट २१ जना र काठमाडौंबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौंमा छन् ।

झण्डै यति नै संख्यामा नृत्यका प्रतिभाहरु पनि ती देशहरुबाट काठमाडौं आएका छन् । उनीहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको फाउण्डेसनले जनाएको छ ।

संसारभरका विभिन्न देशहरु पुगेर त्यहाँका नेपाली प्रतिभाहरुलाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिष्पर्धामार्फत उत्कृष्ट प्रतिभाहरुको छनौट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली भाषी समुदायलाई आफ्नै संस्कृतिको एक सुत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो ।

नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीहरुले नेपाली भाषा संस्कृति र पहिचानको संरक्षण, प्रवर्द्धन र संबर्द्धन गर्ने उदेश्यले स्थापना गरेको फाउण्डेसनले मेरो भ्वाइस युनिभर्सका लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ ।

श्रेष्ठसँगै संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुस्पन प्रधान र गायिकाहरु अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन् ।

त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शंकर विसी, नायक दिलिप रायमाझी, नायिकाहरु केकी अधिकारी र प्रियंका कार्की, नरमान राई निर्णायकका रुपमा अनुबन्धित भएका छन् ।

फिल्ड अडिसनबाट छानिएर आएका प्रतिष्पर्धीहरुबाट चैत्र १९ गतेदेखि शुरु भएको साइटलेस अडिसनले ५० जनाको छनौट गर्ने जानकारी अध्यक्ष अधिकारीले दिनुभएको छ ।

गायक श्रेष्ठसहितका गायन र नृत्यका निर्णायकहरुलाई नियुक्ति गर्ने कार्यक्रममा अध्यक्ष अधिकारीले संसारभरका नेपाली प्रतिभाहरुलाई पहिचान गरी पितृभूमि नेपालमा ल्याएर प्रतिष्पर्धाको अवसर दिन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो ।

उहाँले निर्णायकहरुबाट निष्पक्ष निर्णय हुनेमा आफू विश्वस्त रहेको बताउँदै साइटलेस अडिसनको डिजाइन नै निष्पक्षताका लागि तयार गरिएको जानकारी पनि दिएका थिए ।

नेपाली साँस्कृतिक एकता कायम गर्न सके आफ्नो पुर्खाको देशसँग विदेशमा बस्ने नेपालीहरुलाई पुस्तौं-पुस्तासम्म जोड्न सकिने र यसले आफ्नो पहिचानमा गर्व गर्न सकिने वातावरण बन्दै जाने विश्वास आफूले लिएको अध्यक्ष अधिकारीले धारणा राखेपछि निर्णायकमा अनुबन्धित हुनका लागि आयोजित हस्ताक्षर समारोहमा बरिष्ठ गायक दीप श्रेष्ठले भावुक हुंदै महान कार्य भनी प्रशंसा गर्नुभएको थियो।

फाउण्डेसनका नेपाल अध्यक्ष दिलिप रायमाझीले निर्णायकहरुलाई अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

मेरो भ्वाइस युनिभर्सको प्रस्तोताहरुमा चर्चित अभिनेत्री रिमा विश्वकर्मा र कलाकार सन्दीप क्षेत्री छन् भने मेरो डान्स युनिभर्सको प्रस्तोतामा संचारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ्ग छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.