नेपालको सान्त्वना जित, स्कटल्याण्ड ७ विकेटले पराजित

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्दै नेपालले विश्वकपको यसपटकको यात्राको अन्त्य गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा गएराति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डलाई ७ विकेटले हराउदै विजयी भएको हो । नेपालले विश्वकपको यात्रा शुरु गरेको सन् २०१४ पछि विश्वकपको कुनै पनि खेल जितेको यो पहिलो पटक हो ।
नेपालको जितमा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले । दीपेन्द्र र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि स्कटल्याण्डले दिएको १ सय ७१ लक्ष्य नेपालले ४ बल बाँकी छदै पूरा गर्यो । दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे ।
दीपेन्द्र टि ट्वान्टी विश्वकपको एकै संस्करणमा लगातार दोस्रो अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । यसअघि उनले वेष्ट इन्डिज विरुद्धको खेलमा अर्धशतक बनाएका थिए । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा तत्कालिन ओपनर सुवास खकुरेलले अर्धशतक बनाए यता कुनै पनि खेलाडीले यो रेकर्ड बनाउन सकेका थिएनन्।
यसैगरी ओपनर कुशल भुर्तेलले ४३ रन बनाए भने अर्का ओपनर आशिफ शेख ३३ रन र कप्तान रोहित पौडेल १६ रन बनाउँदा आउट भए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको बनाएको थियो । स्कटल्याण्डलाई दवावमा राख्दै नेपालका सोमपाल कामीले महत्वपूर्ण तीन विकेट लिए । यसैगरी नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए । यो जित पछि समूह सी मा रहेको नेपालले सान्त्वना जितसंगै जारी विश्वकपको यात्रा टुङ्ग्याएको छ ।।






प्रतिक्रिया राख्नुहोस्