तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार निज शरणार्थी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्ने गरेको तथा निजले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिकता कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ ।

यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिए वापत रु पाँच लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौँका विभिन्न ठाँउमा बसोबास गर्ने तिब्बतियन शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ ।

साथै नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडाँैबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.