जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

जुम्ला- जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो ।

माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताउनुभयो ।

माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।

अध्यक्ष नेपालीले भन्नुभयो, “विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ ।” कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित मुक्ति मोर्चाका अध्यक्ष नेपालीले दावी गर्नुभयो । जुम्ला गुठीचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनुभयो ।

समानता समानुपातिकको मूल एजेण्डा माओवादी सूत्रधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको उहाँको भनाइ छ । सङ्घीयता, समानुपाति र समावेशीमा माओवादी केन्द्रले नै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनसहित सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज भण्डारीको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.