आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा

दाङ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।”

देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको उल्लेख गर्दै उहाँले अब कांग्रेस अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा अघि बढेको दाबी गर्नुभयो ।

कार्यक्रमका वक्ताहरूले पार्टीको क्रियाशील सदस्यमा गम्भीर समीक्षा गर्नुपर्ने, शिक्षा, स्वास्थ्यका विषय, दाङको विकास निर्माणलगायत विषय उठाउनुभएको थियो ।

महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र दुःख, सङ्घर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने कामको असल अभ्यास दाङ कांग्रेसले गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अब यहाँको सम्भावनालाई सही रुपमा परिचालन गरेर उत्पादनलाई अर्थव्यवस्थासँग जोडेर सङ्कटग्रस्त अवस्थाबाट माथि उठाउन सबैको साथ सहकार्य आवश्यक रहेको बताउनुभयो । देशमा युवा शक्ति निर्यात गर्ने मुलुकका रुपमा देखा पर्न थालेकाले यी विषयमा सबै गम्भीर हुनुपर्नेमा उहाँको जोड थियो ।

महामन्त्री थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न अझै नसकेको उल्लेख गर्दै भन्नुभयो, “तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको छ । सोचेजस्तो लय समात्न सकेको छैन ।”

उहाँले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको उल्लेख गर्दै उहाँले गहिरिँदो आर्थिक सङ्कटबाट पार पाउन प्रधानमन्त्रीले आफ्ना सुविधाहरूमा विचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।

“पार्टीभित्र सङ्घर्ष गरेर, लडेर खारिएका नेताहरु कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने सङ्कल्प लिएका छौँ”, महामन्त्री थापाले भन्नुभयो, “अहिलेको सङ्कटसँग भागेर देश बन्दैन, सङ्कटको सामना डटेर गर्ने ताकत सबैले लिनुपर्छ, जोखिमको बेलामा आएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निभाउनुपर्छ, यो दायित्व अहिलेको सरकारको काँधमा आएको छ ।”

कार्यक्रममा कांग्रेसको इतिहासदेखि वर्तमान अवस्थासम्म योगदान पुर्‍याउनुभएका ९२ जनालाई कदरपत्रसहित सम्मान गरिएको थियो । दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगीको अध्यक्षतामा भएको जिल्ला सम्मेलनमा उपसभापति गिरिराज सुवेदीको स्वागत गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दाङका १० वटै पालिकाबाट प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.