नक्कली भुटानी शरणार्थी प्रकरण : ‘बादल’ का सल्लाहकार राई पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजित राई पक्राउ परेका छन् ।

उनी पूर्व गृहमन्त्री  रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार पनि रहेका थिए ।

राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ ।

यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.