नेपालीसँगै हिन्दी भाषामा ‘परस्त्री’

काठमाडौं- पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।

अभिनेता हुँदै निर्देशक बन्नुभएका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिनुभयो ।

“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता थप पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भन्नुभयो ।

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शमाले अभिनय गर्नुभएको छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बईमा भइरहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गर्नुभएको छ । हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट समेत भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ ।

“हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.