छानविनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उहाँले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताउनुभयो । अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने

नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार चलेको बैठकमा मोर्चा फाँटका उपप्रमुख भवेश्वर पराजुलीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कलाकारले सिर्जना गर्ने विषयवस्तुले समाजलाई सकारात्मक रुपान्तरण गर्न प्रभाव पार्ने बताउनुभयो । महासङ्घका अध्यक्ष धमलाले परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा कलाकारको सहभागिता रहेको भए पनि लोकतन्त्रको रक्षाका लागि पुनः कलाकार एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.