नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ– यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । नदीको बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन ।
सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो उक्त तटबन्ध विसं २०७९ पुस ५ गते निर्माण सुरु गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो । उहाँका अनुसार नारायणी नदी किनारको चौरलाई कायम राख्दै नदी कटान रोक्ने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको थियो ।
तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुङ्गा थुपारेर बगरमा परिणत गरेको इन्जिनियर पौडेलले बताउनुभयो । “बगर बनेपछि उक्त क्षेत्रमा जानसमेत कठिन भएको छ । यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा अहिले पनि मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल देखिन्छ”, उहाँले भन्नुभयो ।
सूचना अधिकारी पौडेलले नारायणी नदीको धारलाई हाल कायम रहेको दिशामा नियन्त्रण तथा स्थिर राख्न तटबन्धले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँका अनुसार तटबन्धका कारण नदीको बहाव परिवर्तन भई नारायणगढ बजारतर्फ केन्द्रित हुनबाट रोकिएको छ । यसले नारायणगढ बजार तथा आसपासका बस्ती, भौतिक संरचना र जग्गालाई नदी कटान तथा बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुर्याएको छ ।
इन्जिनियर पौडेलले भन्नुभयो, “सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो । तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ ।” उहाँका अनुसार उक्त तटबन्ध निर्माण नभएको भए नारायणी नदीले आफ्नो धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासको क्षेत्रमा कटान तथा बाढीको जोखिम सिर्जना गर्न सक्ने सम्भावना थियो । तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार क्षेत्र, सडक, पूर्वाधार र अन्य सम्पत्तिलाई नदीजन्य कटानबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् । बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्दछ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।
कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत रु १७ करोड ५९ लाख खर्चमा संरचना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुङ्गा प्रयोग गरी किनार संरक्षणको काम गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन ।






प्रतिक्रिया राख्नुहोस्