आज बालबालिकालाई नियमित खोप लगाइँदै

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उहाँका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो । मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.