आधुनिक कृषिमा अग्रसर हुँदै गुल्मी सिर्सेनीका कृषक
गुल्मी- गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनी लाम्पाटाका किसानहरु परम्परागत कृषि छाडेर आधुनिक कृषिमा अग्रसर भएका छन् । बाँदर लगायतका जंगली जनावरबाट हैरानी खेपेका किसान पछिल्लो समय कफि खेतीतर्फ उन्मुख भएका हुन् ।
यस ठाउँमा विगत तीन वर्ष अगाडि मकै, कोदो, गहुँ र फापर खेती मात्रै हुने गर्दथ्यो । बाँदरले सबै खेतीलाई हानी पुराएपछि यहाँका किसान खेतीपाती छाड्न बाध्य हुनुपरेको थियो । तर, किसानमा आधुनिकताले छोएसँगै कफि खेतीमा किसानहरु आकर्षित हुन थालेका हुन् ।
सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफि खेती सुरु गरेको बताउनुभयो । उहाँले कफि सम्बन्धि धेरै ज्ञान भएकोले खेती गर्न धेरै सहज भएको बताउनुभयो । परम्परागत खेती भन्दा कफि खेती निकै प्रभावकारी रुपमा गर्न सकेको किसान मेघराज अर्यालले बताउनुभयो ।
आर्थिक आम्दानीको लागि परम्परागत रुपमा गरिने मकै, कोदो र गहुँ खेती छाडेर कफि खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो । सिर्सेनीका ४५ घरधुरी किसान अहिले परम्परागत कृषि छाडेर आधुनिक कृषिमा प्रेरित भएका छन् ।
जसको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई गुल्मीले सहजीकरण गरेको छ । उक्त ठाउँका किसानले एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफिका बिरुवा रोपेका छन् ।
दुई समुह बनाएर ४५ किसानलाई कफि खेतीमा आकर्षित गरिएको छ । जसअन्तर्गत सिर्सेनी प्राङ्गारिक कफि कृषि पाठशाला १५ हप्तासम्म संचालन गरिएको छ । जसको अन्तिम दिन कृषक दिवस भनेर भनिएको छ । पाठशालाको सहजीकरण गर्दै स्थानीय अगुवा किसान सहजकर्ता प्रेम अर्यालले १५ हप्तासम्म स्थानीय किसानलाई प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई प्रमुख गंगा कुमारी पोखरेलले कफि खेतीमा किसानलाई आकर्षित गर्न, कफि खेती सम्बन्धि जानकारी गराउन र आधुनिकतामा सचेतनाको लागि पाठशाला कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कफि किसानलाई उत्पादनमा अग्रसर हुन आग्रह गर्दै बजारीकरणको लागि कुनै चिन्ता नलिन आग्रह गर्नुभयो ।
उहाँले पाठशाला मार्फत सिकेका कुरा कार्यान्वयनमा लगेर कफि खेतीलाई अझै विस्तार गर्नुपर्ने समेत बताउनुभयो । बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो ।
गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने अध्ययन गरेको थियो । त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको छ ।
नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुदै आएको तथ्थयाङ्कमा उल्लेख छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङजा जिल्लालाई कफी सुपर जोनको रुपमा विकास गरेर कफीमा व्यवसायिककता बढाउने प्रयास गरिएको छ ।
गुल्मीमा भने १७८ हेक्टर जमिनमा आपचौर र भण्डारी डाँडामा बिशेष गरी कफी खेती गरिदै आएको छ । कफी खेती गर्ने किसानहरुलाई कफीका बोटमा सेतो गवारो रोगले सताउने गरेको सन्र्दभमा सेतो गवारो रोगबाट कफीका बोटहरुलाई बचाउनका लागि बिभिन्न उपचारात्मक कार्यहरु गरिएको छ ।
गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एबम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बडानम्बर–४ बलेटक्सारको भण्डारी डाँडामा ०७१ बैखास ३ कफी अनुसन्धान कार्यक्रम कार्यालय समेत स्थापन भएको छ ।
कार्यक्रम मार्फत कफी सम्बन्धी अनुसन्धान, जात परिक्षणा, रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको छ । गुल्मी जिल्लाबाट उत्पादन भएको कफी बाहिरी जिल्लामा ८० लाख रुपैयाँको बिक्री हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्