१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  मन्त्री बस्नेतले  विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ ।
“अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ । यदि ति अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ”, उहाँले भन्नुभयो । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताउनुभयो ।
रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताउनुभयो ।  सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिनुभयो । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.