आईसीसी एकदिवसीय विश्वकप छनोट: नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध खेलिरहेको नेपालले २ सय ९१ रनको लक्ष्य दिएको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन जोडेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।

तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे ।

जिम्बावेसँगको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल पनि हो । नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.