कला, साहित्य र खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका साथ पहल थालिएको उहाँले उल्लेख गर्नुभयो ।
‘प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रलाई प्राथमिकता राखेको र यस पटक पनि उत्तिकै महत्व दिएको बताउनुभयो । खेल क्षेत्रलाई प्रभावकारी बनाउन र अगाडि बढाउन सरकारको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रधानमन्त्री दाहालको भनाइ छ ।
पछिल्ला दिनमा क्रिकेट खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलताको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बक्सिङलाई पनि विश्वव्यापी रुपमा अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसपटक मैले कला–साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । खेलकुदको विकासले युवाको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ । सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबद्र्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ ।” प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने  प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो ।
‘स्व प्रकाश दाहालको स्मरणलाई ताजा राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले सो प्रतियाोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ सङ्घले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगिता चार दिनसम्म चल्ने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.