काठमाडौंका व्यस्त सडक चोकहरुमा सहज आवागमनका लागि मुलुकमै पहिलो पटक नयाँ प्रयोग गरिंदै
काठमाडौं- सधैं सवारी चाप रहने काठमाडौंका व्यस्त सडक चोकहरुमा सहज आवागमन व्यवस्थापनका लागि सडक विभागले मुलुकमै पहिलो पटक नयाँ प्रयोग गर्दैछ ।
जापान सहयोग नियोग जाइकाको सहयोगमा विभागले सधैं अत्यधिक ट्राफिक चाप रहने एक सय ७ चोकहरुलाई नयाँ विधि सहित रुपान्तरणको उपाय प्रयोग गर्न लागेको हो ।
जुनसुकै बेला ट्राफिक अत्यधिक हुने र कार्यालय समयमा धेरै चाप हुने सडकहरुलाई छुट्टाछुट्टै वर्गिकरण गरेर सडक विभागले नयाँ उपायबाट ट्राफिक व्यवस्थान गर्ने योजना अघि बढाएको हो ।
सडक मोडिफाई नाम दिएर विभागले अघि बढाएको सडक परिमार्जन योजना अनुरुप पहिलो चरणमा असोज दोस्रो साता भित्र सकिने गरी नयाँ बानेश्वरमा काम शुरु भएको छ । यसका लागि विभागले सडकहरुलाई ‘क’ र ‘ख’ श्रेणीमा वर्गीकरण गरेको छ ।
जुनसुकै समयमा पनि अतिव्यस्त सडकलाई ‘क’ श्रेणीमा र निश्चित समय (अफिस टाइम)मा मात्र व्यस्त सडकलाई ‘ख’ श्रेणीमा वर्गीकरण गरिएको छ ।
बानेश्वर चोकमा तीनकुने तिरबाट शंखमूल र माइतीघरबाट शंखमूलतर्फ दायाँ बायाँ मोडिने सवारीसाधनलाई लक्षित गर्दै दायाँ मोडिदाँ रोकिने क्षेत्र ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण शुरु गरिएको छ । यसका लागि दुई सय मिटरको छुट्टै सडक लेन निर्माण गरिदैं छ ।
मीनभवन तथा बबरमहलतर्फबाट आउने गाडीलाई सहज हुनेगरी नयाँ बानेश्वरमा बुद्धनगर तर्फ दुइसय ३० मिटर र तीनकुने तर्फ दुइसय ८० मिटर सडक मोडिफाई हुने विभागका सडक सुरक्षा विज्ञ प्रकाश चन्द्र भण्डारीले बताउनुभयो ।
दातृ राष्ट्र जापानको सहयोग नियोग जाइकाको सहयोगमा हुदै गरेको सडक व्यवस्थापनमा नयाँ बानेश्वरको काम सम्पन्न भएलगत्तै दोस्रो चरणमा लैनचौर चोकका काम थाल्ने सडक विभागको योजना छ ।
यो संगै विभागले पहिचान गरेका सवारीसाधनको ओहोरदोहोरका कारण सधैँ अस्तव्यस्त रहने राजधानीका विभिन्न १०७ स्थानको सडकमा पनि मोडिफाई योजना लागू हुने सडक सुरक्षा विज्ञ भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार जाइकाले ‘क’ श्रेणी र नेपाल सरकारले ‘ख’ श्रेणीमा परेका सडकको मुख्य चोकहरुलाई मोडिफाई गर्नेछन् । योसंगै ती स्थानहरुमा नियमित हुने सवारी जाम हट्ने र सर्वसाधारणले लामो जामको हैरानीबाट राहतको महसुस गर्ने विश्वास विभागले लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्