जलवायु परिवर्तनसम्बन्धी सचेतना फैल्याउन मनाङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

मनाङ- जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि हिमाली जिल्ला मनाङका स्थानीयले खेलको माध्यमबाट सचेतना जगाउने भएका छन् ।

हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न भूमिका खेल्ने हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले यसका बारेमा स्थानीयमाझ सचेतना फैलाउन फ्रेण्डसीप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले यही भदौ २५ देखि २७ गतेसम्म फुटबल खेल हुने नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानव तथा वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणमा चासोका साथ प्रकृतिको संरक्षणलाई सम्मान गर्दै स्थानीयसमक्षा लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन कार्यक्रमले भूमिका खेल्नेछ ।

उहाँले भन्नुभयो, “मानव र वन्यजन्तु बीचको सहअस्तित्व कायम राख्न र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।” एन्ट फाउण्डेसन, वाइल्ड फ्रि र बायोकोसको आयोजनामा तीन स्थानमा फुटबल हुने उहाँले बताउनुभयो ।

मनाङको तिमाङ, पिसाङ र मुङ्जी मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह लगायतका खेलाडीले फुटबल खेल्नेछन् ।

कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेल आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कलाकार, खेलाडी र विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता र स्थानीय खेलाडीहरू बीच मैत्रीपूर्ण फुटबल सञ्चालन हुनेछ ।

स्थानीय क्लब टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकबीच खेल हुनेछ । सांगितीक कार्यक्रमसहित पहिलो दिन तिमाङ, दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी भ्राकामा खेल हुनेछ । वन्यजन्तु संरक्षण गर्नलाई खेलको माध्यमबाट अभिप्रेरित गर्न मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.