जुम्लामा रंगशाला: ५० करोड रुपैँयाको लगानीमा ‘हरिबहादुर रोकाया’ रंगशाला बन्दै

जुम्ला- सरकारले विकट पहाडी जिल्ला जुम्लामा ५० करोड रुपैँया खर्चेर सुविधायुक्त रंगशालासहित अन्य पूर्वाधार बनाउने भएको छ । स्थानीय खेलाडीका समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण गर्न लागिएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले सदरमुकाम चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा रंगशाला बनाउने तयारी गरेको छ ।

कार्यालयले रंगशालासहित अन्य पूर्वाधार बनाउन ५० करोड लगानी गर्ने भएको छ । रंगशाला अभावमा यहाँका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन ।

सघन सहरी विकास कार्यालयका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले प्रदेशकै नमुना रंगशाला निर्माण हुन लागेको बताउनु भयो ।

“रंगशाला निर्माणका लागि टेन्डरसमेत आह्वान भएको छ । अबको २ वर्षमा सुविधायुक्त रंगशालासहितका अन्य संरचना निर्माण हुनेछन् । यसले खेल क्षेत्रमा देखिएका तमाम समस्या अन्त्य हुनेछ,” खड्काले भन्नुभयो । रंगशालाको नाम पहिलो विश्व कीर्तिमानी धावक ‘हरि बहादुर रोकाया रंगशाला’ रहनेछ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत रंगशाला बन्न लागेको हो । कुल ५० करोड लगानीमध्ये १३ करोड लागतमा रंगशाला निर्माण हुनेछ । बाँकी ३७ करोड लागतमा रंगशालाबाहिरका सुविधायुक्त संरचना बन्नेछन् । जुम्लाका लागि रंगशाला निर्माणलाई प्रदेश गौरवकै आयोजनाका रुपमा समेत हेरिएको छ ।

यसले जुम्लाको खेल क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान गर्ने र नयाँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । रंगशाला निर्माणसँगै जुम्ली खेलाडीले हिउँदमा धुलो तथा हिउँ र बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने, विभिन्न खेलको आयोजना गर्न स्थान अभावले भौंतारिनुपर्ने समस्याको अन्त्य हुने सब–इन्जिनियर खड्काको भनाइ छ ।

अन्य केके बन्दैछन् सरंचना ?

५० करोड लगानीमा दुई वर्षभित्र निर्माण हुने अत्याधुनिक रंगशालाभित्र अन्य ११ वटा संचरना निर्माण हुनेछन् । बाहिर निर्माण हुने अन्य संचरनाले खेल क्षेत्रकै विकासमा जोड दिनेछ । यस्तै, रानीताल पार्क बनाइने छ भने चन्दननाथ नगरपालिका अगाडि सटर निर्माण गरिनेछ । चन्दननाथ–८ को पक्की वडा कार्यालय भवन र जुम्ला बजारमा कटिङ ढुंगा छाप्ने काम पनि यसै अन्तर्गत हुनेछ ।

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगसँगै निर्माण हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

यही कार्यक्रमअन्तर्गत डोल्पाको ठूलीभेरी नगरपालिकामा २५ करोड लागतमा रंगशाला र सडक, त्रिपुरासुन्दरी नगरपालिकामा २५ करोड लागतमा सडक, पार्क र गेष्टहाउस निर्माण हुने सब–इन्जिनियर खड्काले जानकारी दिए ।

उनका अनुसार कालिकोटको राष्टकोट नगरपालिकाको आरसिपी बजामा २० करोडमा ३० सटर निर्माण हुनेछन् ।

माथिल्लो कर्णालीसहित ८ जिल्ला कार्यक्षेत्र रहेको यो आयोजना कार्यालयले चालू आवमा सडक, भवनलगायतका २५ आयोजना निर्माण गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.