भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त

बाँके- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ ।
राति १२ः३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका हुनुहुन्छ भने चारजना सानिभेरी रुकुमका हुनुहुन्छ । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताउनुभयो ।
प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको बताउनुभयो । कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एकजना घाइतेलाई पनि आजै भेरीमै ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिनुभयो । हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताउनुभयो । रुकुम पश्चिम, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम पश्चिम आइपुग्नुभएका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेट्नु भएको हो ।
बिहान जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुग्नुभएको थियो ।
उहाँले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पु¥याउनुभएको थियो । चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ । चौरजहारी अस्पतालमा घाइतेलाई भेट गर्नुभएका प्रधानमन्त्री दहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । “भूकम्पका कारण भएको क्षतिप्रति हामी दुःखी छौँ । सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ । तपाईंहरु नआत्तिनु होला”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
साथै उहाँले सरकार भूकम्पपीडितको साथमा रहेको बताउनुभयो । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उहाँको भनाइ थियो । भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आइपुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल आज बिहान स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा आइपुग्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.