कोशी प्रदेश: बजेट प्रतिस्थापन विधेयक पारित

विराटनगर- कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । विधेयक पारित हुनु अगाडि कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिंथेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छविलाल चुँडाल र रामप्रसाद महतोले सो विधेकयको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।उहाँहरुले सरकारको कर तथा राजस्व उठाउने विषयसँग सम्बन्धित यो विधेयकले प्रदेशको समृद्धिको यात्रा कोर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको विधेयक भएकाले यसमा कर र करका दायराका विषयमा कुनै पनि फेरबदल नगरेको जानकारी दिनुभयो । उहाँले प्रदेशको आयको सबैभन्दा ठूलो स्रोत यातायात भएकाले यसलाई व्यवस्थित गर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले गिटी, बालुवा र ढुङ्गाका विषयमा स्थानीय तहले कर लगाउने भएकाले प्रदेश सरकारले यसबाट आउने करलाई व्यवस्थित मात्र गर्ने स्पष्ट पार्दै सरकारले घरेलु तथा साना उद्योग दर्तामा सहुलियत दिने नीति लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.