अस्थायी आवासका लागि स्थानीय तहमा पठाइयो अनुदान रकम

रुकुम पश्चिम –रुकुम पश्चिमका भूकम्प प्रभावितलाई जिल्ला विपद व्यवस्थापन समितिले अस्थायी आवास निर्माणका लागि स्थानीय तहको विपद् कोषमा अनुदान रकम पठाउन सुरु गरेको छ । भूकम्प प्रभावित पालिकाको स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भएर आएका लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम विपद् कोषमा पठाएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार जिल्लाका तीन पालिकाबाट प्राप्त १ हजार १४ जना लाभग्राहीका लागि २ करोड ५३ लाख ५० हजार अनुदान रकम पठाइएको छ । जसअन्तर्गत आठबिसकोट नगरपालिकाका ५ सय लाभग्राहीलाई २५ हजारका दरले १ करोड २५ लाख रकम पठाइएको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकाका ४ सय ५० जना लाभग्राहीका लागि १ करोड १२ लाख ५० हजार रकम पालिकाको विपद् कोषमा पठाइएको छ ।

यसैगरी त्रिवेणी गाउँपालिकाका ६४ घरपरिवारका लाभग्राहीलाई १६ लाख रकम पठाइएको प्रजिअ पन्तको भनाइ छ । यस्तै स्थानीय तहको समितिबाट थप लाभग्राही कायम भएर आएको खण्डमा जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको कोषमा बाँकी अनुदान रकम पठाउने व्यवस्था समेत गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले अस्थायी आवास निर्माणका लागि दोस्रोपटक संशोधित कार्यविधि, २०८० अनुसार पहिलो किस्ताको अनुदान रकम सम्बन्धित पालिकाको कोषमा पठाएको जानकारी दिएको छ ।
यता भूकम्प प्रभावित पालिकाले भने स्थानीय तहको विपद् कोषमा आएको अनुदान रकम आजैदेखि लाभग्राहीको बैंक खातामा पठाउने तयारी गरेका छन् । सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्टले भूकम्प प्रभावितको अवस्था चिसोको कारण नाजुक बन्दै गएकाले आजैबाट लाभग्रहीको खातामा सो रकम पठाइने बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुदान रकम वितरणमा सरलीकृत गरेपनि स्थानीय तहले बैंकबाटै लाभग्राहीलाई अनुदान रकम पठाउन लागेका छन् । अनुदान रकम हस्तान्तरणमा प्राधिकरणको टोली आउन ढिलाइ हुने भएकाले स्थानीय तहले प्रभावितको अवस्थालाई मध्यनजर गर्दै तत्काल कोषमा जम्मा भएको रकम लाभग्राहीलाई पठाउन लागेको जानकारी दिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.