थमन विक हत्या प्रकरण : ७ जनालाई जन्मकैदको फैसला
लक्ष्मी महतो कोइरी र पवन कापरले पाए सफाइ

काठमाडौँ- महोत्तरी जिल्ला अदालतले थमन विक हत्या प्रकरणमा ७ जनालाई जन्म कैदको फैसला सुनाएको छ।
कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका २८ जना मध्ये २ जनालाई भने अदालतले सफाइ दिएको छ ।
बाँकी १९ जना प्रतिवादी फरार रहेकोले उनीहरुको मुद्दा मुल्तबीमा राख्ने आदेश अदालतले सुनाएको छ।
मधेश आन्दोलनका क्रममा हत्या गरिएका थमन विको हत्यामा संलग्न प्रतिवादीहरुमध्ये सञ्जयकुमार शाह, प्रदीप शाह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र भन्ने शंकर शाही, अभिराम शर्मा र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश उद्धबप्रसाद भट्टराईको एकल इजलासले प्रतिवादीहरु मध्ये लक्ष्मी महतो कोइरी र पवन कापरलाई भने सफाइ दिएको छ । उहाँहरु २ जनाले आगलागी सम्बन्धी मुद्दामा पनि सफाइ पाउनुभएको छ।
कर्तव्य ज्यानमुद्दामा जन्मकैदको फैसला पाएका ७ जनालाई आगलागी सम्बन्धी मुद्दामा थप ६ महिना कैद र १० लाख रुपैँया दामासाहीले नेपाल सरकारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालत महोत्तरीकी श्रेस्तेदार नूतन झाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
सफाइ पाएका मध्ये लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । कोइरी हालसम्म फरार नै हुनुहुन्छ भने अर्का सफाइ पाएका पवन कापरलाई थुनामुक्त गर्न आजै पत्राचार गरिएको श्रेस्तेदार झाले बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्