साैराहामा चितवन पर्यटन महाेत्सवकाे तयारी तीव्र

रत्ननगर – चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी चार बर्ष देखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो ।
कोरोनाका कारण विस.२०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयाे ।
चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक चितवन आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलो पटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटन गतिविधि सुरु गरेका हुन् ।
साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरुले प्रश्न उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृँगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथाबत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासंगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तक्रिया कार्यक्रम राखिएको छ ।
खस्किएको चितवनको पर्यटनलाई माथी उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिनुभयाे ।
महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।
महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयाे ।
सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाईमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उहाँकाे भनाई छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्