२९औं आइजीपी रनिङ ट्रफी सैनिक महाविधालयलाई

काभ्रे- नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी सैनिक आवासीय महाविधालयले जित्न सफल भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर टीम प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्