अध्यक्षले चलाएको गाडी दुर्घटनामा, चार जना घाइते, अध्यक्ष प्रहरी नियन्त्रणमा

नुवाकोट- नुवाकोटको व्यस्त ढुंगेबजारमा एक गाउंपालिकाका अध्यक्षले चलाएको गाडी दुर्घटनामा परेको छ । व्यस्त सडकमा गाउंपालिकाको सेतो नम्वर प्लेटको गाडीले अन्धाधुन्द मानिस तथा गाडीलाई ठक्कर दिंदै दुर्घटनामा परेको हो ।

पासाङल्हामु मार्गअन्तर्गत विदुर-ढुंगे सडकखण्डमा रहेको विदुर नगरपालिका-१ ढुंगेवजारमा मंगलवार वा२झ ३७८७ नम्वरको स्कोर्पियो गाडीले अनियन्त्रित भई ठक्कर दिंदा एक महिलासहित चार जना घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ५० मिटर परैदेखि अनियन्त्रित हुँदै आएको सो सरकारी गाडीले पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो ।

आमाछोदिङ्मो गाउँपालिका रसुवाको सो गाडीले ठक्कर दिंदा पैदल हिडिरहेका नुवाकोटको म्यागङ गापा ६ का ३० वर्षिय वीरवहादुर तामाङ, रोकिरहेको वा६१प ३९६१ नं.को मोटरसाइकललाई ठक्कर दिदा प्रेमनाथ लामिछाने, घाम तापिरहेकी विदुर १ ढुंगेवजारकी २९ वर्षिया विमला ढकाल र सोही स्थानका ३२ वर्षिय उमेश थपलिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै स्थानीयले उद्धार गरि घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेका थिए ।

घाइतेमध्ये गम्भीर रहेका वीरवहादुर तामाङलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । अन्यको त्रिशूलीमा उपचार भइरहेको छ । दुर्घटनाका समयमा सो सरकारी गाडी आमाछोदिङ्मो गाउाँपालिकाका अध्यक्ष ३५ वर्षिय वुचुङ तामाङ आफैंले गुडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.