‘नमूना अर्ग्यानिक तरकारी जोन’का रुपमा विकास गर्ने योजनामा चाँगुका युवा

भक्तपुर- उत्पादन बढाउन विषादीको प्रयोगमा होडबाजी चलिरहेका बेला भक्तपुर चाँगुनारायण क्षेत्रका कृषकहरू विषादीरहित सामूहिक अर्गानिक तरकारी खेतीमा जुटेका छन् । अन्नबाली भन्दा अर्ग्यानिक तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि स तर्फ युवाहरु आकर्षित भएका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ४ चम्पापुर क्षेत्रका युवाहरु अहिले सामूहिक अर्ग्यानिक तरकारी खेतीबाट मनग्य आमदानी गरिरहेका छन् । करीब सात सय रोपनी जग्गा भाडामा लिएर उनीहरु सामूहिक तरकारी खेतीमा जुटेका हुन् ।

भक्तपुर जिल्लालाई नै अर्ग्यानिक तरकारी जिल्लाको रुपमा विकास गर्न अभियानकै रुपमा अर्ग्यानिक खेतीमा जोड दिएको किसान रामकुमार तामाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ- ‘युवाहरु रोजगार छैन भनेर विदेश जाने क्रम बढिरहेका बेला हामीले अगानिक खेतीमा जोड दिएर स्थानीय युवालाई रोकिरहेका छौं ।’

यस्तै सात रोपनी जग्गा लिजमा लिएर खेती गर्दै आएका अर्का किसान बलबहादुर श्रेष्ठले ‘एक घर एक अर्ग्यानिक खेती’ नारा दिएर अहिले पाँच सय रोपनी जग्गामा युवाहरुले श्रम गरिरहेको बताउनुहुन्छ ।

नेपाली नौजवान युवाले विदेशमा श्रम बेच्नुभन्दा आफ्नै माटोमा पसिना बगाउँदै नमूना अर्ग्यानिक उत्पादनमा जोड दिएको उहाँको भनाइ छ । उहाँ भन्नु हुन्छ, ‘अन्य बाली भन्दा यसबाट राम्रो आम्दानी हुने भएकाले युवाहरु सामूहिक खेतीमा लागेका हौं । हामीले नर्सरी समेत बनाएर उत्पादन पनि बढाउने अनि किसानलाई चाहिने विउ पनि आफै उत्पादन गरेका छौं ।’

एक सय पच्चिस घरधुरीका युवाहरु मिलेर खेती गरिरहेका छन् । ती मध्ये केही युवाहरु जापान अष्ट्रेलियामा दश वर्ष बसेर फर्किएका छन् । उनीहरुले सिकेको सीप अहिले यही तरकारी खेतीमा प्रयोग गरिरहेका छन् ।

अत्यधिक विषादी प्रयोगका कारण मानिसमा घातक रोग समेत लाग्ने भएकाले अहिले अभियानकै रुपमा विषादीरहित उत्पादनमा जोड दिएको युवाहरुको भनाइ छ । यस गाउँका युवा मात्रै होइन, यहाँ रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, अछाम, दैलेखदेखिका युवायुवतीहरु खेतीमा जुटेका छन् ।

उनीहरुले उत्पादन गरेको बस्तुको मुल्यमा बिचौलियाकै राज चलेको गुनासो गर्दछन् । विद्युत गृहका कारण सिंचाइको असुविधा भोगिरहेका किसानले बारीमै पोखरी बनाएर आलु, चम्सुर गोलभेडा, साग, सिमी, मुला, भाण्टा, करेला, काक्रा, बन्दा गोवी, काउलीलगायत तरकारी उत्पादन गरिरहेका छन् ।

आलुमा भने सोचेअनुसार मूल्य नपाएको गुनासो किसानको छ । चाँगुलाई देशकै नमूना अर्ग्यानिक तरकारी जोनका रुपमा उत्पादन गरिरहेकाले युवालाई प्रोत्साहन गर्न आवश्यक उपकरण सहयोग गर्ने नगरप्रमुख जिवन खत्री बताउनुहुन्छ ।

रसायनिक मल प्रयोगले माटोको उर्वरशक्ति ह्रास हुँदै गएपछि त्यसलाई निस्तेज पार्न किसानहरु गड्यौला मल तथा प्राङगरिक मल उत्पादनमासमेत जोड दिँदै आएका छन् ।

यसवर्ष चाँगुनारायणको यस क्षेत्रबाट करिब ३५ करोड बराबरको तरकारी उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यान्वयन इकाइ भक्तपुरले अनुमान गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.