आहा ! तोरीले पहेँलपुर म्याग्दीको रत्नेचौर (फोटो फिचर)

म्याग्दी- माघको कठ्याङ्ग्रिने चिसो मौसम । दुईदिन अघिको हल्का वर्षा र हिमपातले चिसो ह्वात्तै बढेको छ । खेत र बारीमा पहेँलपुर तोरी फुलिरहेको छ । तोरीको फुलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ र बायाँ भने मानिसहरु भुलिरहेका छन् ।

उत्तरतर्फ फर्किने हो भने मनोरम हिमश्रृङ्खला ठ्वाक्कै देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पहेँलै तोरी फुलेको छ । गाउँको बीचमा कालोपत्रे गरिएको चिल्लो सडकको दायाँ र बायाँ भू–भागमा परम्परागत तथा आधुनिक घरहरु बनेका छन् । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरको भ्रमणमा नपुगेका सायद कमै होलान् ।
समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलपुर बनेको छ ।

बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ, केराउ र आलुले हरियाली छाएको छ । खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै यतिबेला पहेँलपुर बनेको छ भन्दा फरक पर्दैन ।

तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ ।

तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले आकर्षण थपेको छ ।

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १८ सय मिटर सडकमा पूर्व सांसद भूपेन्द्रबहादुर थापाको पहलमा आर्थिक वर्ष २०७५÷०७६ मा चार करोडको बजेटबाट कालोपत्रे र ढलान गरिएको थियो ।

अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भीड बढ्दै जान थालेको छ ।

म्याग्दीसहित पर्वत, बागलुङ, भैरहवा, चितवन, काठमाडौं र इन्डियाबाट समेत पर्यटकहरु आएर तोरीबारीमा रमाउने गरेको भानु माध्यमिक विद्यालय रत्नेचौरका निवर्तमान प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । विगतभन्दा पछिल्लो वर्षमा रत्नेचौरमा पर्यटकको चहलपहल बढेको बताउँदै उहाँले भन्नुभयो, ‘रत्नेचौर म्याग्दीको तराई भनेर चिनिन्छ ।

 

 

 

यहाँ अन्नको भण्डार र मलिलो जग्गा छ । त्यसपछि अहिले तत्काल बनेको यो भाइरल रोडको कारणले र दुईतिर तोरी र बीचमा रोड बनेको छ । धौलागिरि हिमाल पनि यहाँबाट प्रत्यक्ष सिधै देखिने भएको कारणले र मनमोहक दृश्यको कारण पनि मानिसहरु अलिकति यो वर्ष विगतको वर्ष भन्दा अझ धेरै आइरहेको अवस्था देखिन्छ ।

 

प्रायजसो शुक्रवार, शनिवार र विदाको दिनमा धेरै पर्यटकहरु रत्नेचौरको तोरी बारीमा फोटो खिच्न र रमाउन आउने गरेको स्थानीयवासी बताउँछन् । फराकिलो र सम्म परेको फाँट, रत्नेचौर–कुडुँले जोड्ने नवनिर्मित झोलुङ्गे पुल, खुलाचौर, खाने, बस्ने ठाउँ तथा पहेँलपुर तोरी फुलेका कारण धेरै पर्यटकहरु रत्नेचौरमा घुम्न जान्छन् । यसका साथै रत्नेचौरमा मगर समुदायको पोशाक लगाएर फोटो, भिडियो खिचेर रमाउन समेत पाइने भएपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।

रत्नेचौरको तोरी बारीमा विदाको दिन र शनिबार करिब ५ सयजना पर्यटकहरु पुग्ने गरेको अनुमान गरिएको छ । पर्यटकहरु रत्नेचौरको भ्रमण गर्न मोटरसाईकल, स्कुटर, ट्याक्सी, जिप र स्कारपिओमा जाने गरेका छन् । तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौर पुगेर तोरी बारीमा मज्जाले रमाउनुका साथै फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउने गर्छन् ।
रत्नेचौरको तोरीबारीमा खिचेका भिडियो र तस्विर फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, स्टोरी, रिल्सलगायत सामाजिक सञ्जालहरुमा पोष्ट हुन्छन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ । वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर भू–भागमा पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गरेको छ भने स्थानीयको व्यापार, व्यवसायमा पनि सघाएको छ ।


आन्तरिक पर्यटक जमुना आचार्यले तोरी फूलेर पहेँलै भएपछि साथीहरुसँग रत्नेचौरको भ्रमण गर्न आएको हुँदा आफूलाई निकै रमाइलो लागेको अनुभव सुनाउनुभयो । ‘रत्नेचौर घुम्न आउँदा धेरै रमाइलो भयो । वरिपरी तोरी फुलेर पहेँलै बनेको रहेछ । डाँडाकाँडा र हिमाल छ । आफ्ना साथीभाइ, इष्टमित्रसँगै आयो, घुम्यो, आन्तरिक पर्यटनको हिसाबले छोटो समयमा पनि आउन सकिने । रमाइलो गरेर फर्किन सकिने । धेरे सुन्दर ठाउँ यो तोरीले रत्नेचौरको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । अहिले त अझ डे«स लगाएर पनि फोटो खिच्न पाइँदोरहेछ । बोर्ड समेत राख्नुभएको रहेछ । धेरै रमाइलो भयो । आनन्दले मन खुसी र प्रफुल्ल भयो । तपाईहरु पनि घुम्न आउनुहोस् है’– उहाँले भन्नुभयो ।


रत्नेचौरमा धेरै पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । मौरीपालन तथा मह उत्पादनको हिसाबले उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखार ल्याउने गरेको छ । मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउन पिनाले नुहाउने गरिन्छ ।


नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँघरमा पहेँलो रङको तोरी उत्पादन हुँदै आएको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीअन्तर्गत पर्ने तोरी ३ महिनामै पाक्छ । समथर भू–भाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.