त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुँदै नेपालका दुई सफल प्रशिक्षक

काठमाडौं- नेपालले आजदेखि क्यानडा विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेल्दैछ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन खेलको शृङ्खला आज शुरु भएर माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल र क्यानडाबीच आज पहिलो खेल हुनेछ भने दोस्रो खेल यहि माघ २७ र अन्तिम खेल माघ २९ गते हुनेछ । आइसीसी विश्वकप क्रिकेट खेल्न छनोट भएको नेपालले त्यसको तयारी स्वरुप शृङ्खला खेल्न लागेको हो । नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यो श्रृङ्खलामा नेपालका दुई सफल प्रशिक्षक पनि भिड्दैछन् । नेपाली क्रिकेटमा सफल प्रशिक्षकको भूमिका निर्वाह गरेका पुबुदु दसानायकेले यसपटक क्यानडाको प्रमुख प्रशिक्षकको भूमिका सम्हालेका छन् ।

नेपाललाई डिभिजन फाइभदेखि डिभिजिन टु सम्म पुर्‍याउने र टी-२० विश्वकप खेलाउने उनी पहिलो प्रशिक्षक थिए । नेपाल छाडेपछि उनै पुबुदु आज त्रिवि क्रिकेट मैदानमा क्यानडाको पक्षमा नेपालविरुद्ध उभिनेछन् ।

नेपाली क्रिकेटमा कुनैबेला जुन भूमिकामा पुबुदु थिए, यसपटक त्यहाँ मोन्टी देशाई हुनेछन् । उनको प्रशिक्षणमा नेपालले एक वर्षमा धेरै सफलता हासिल गरेको छ ।

त्यसैले यस श्रृङ्खलालाई नेपालका दुई सर्वाधिक सफल प्रशिक्षकबीचको भिडन्तको रुपमा पनि हेरिएको छ । नेपालले एकदिवसीय शृङ्खला खेलेलगत्तै आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक खेल खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.