क्‍वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्‍वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रवारको मन्त्रीस्तरको निर्णय अनुसार उक्त पत्थर गोरखकाली मन्दिर परिसरमा राखिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले गत माघ २४ गते क्‍वार्ज क्रिष्टलको ब्यवस्थापनका विषयमा खानी तथा भूगर्भ विभागलाई पत्र खानी तथा भूगर्भ विभागलाई पत्र लेखेको थियो ।

विभागले मन्त्रालयको राय मागेकोमा नेपाल सरकारको स्वामित्व रहने गरि गोरखामै संरक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ बमोजिम नेपाल सरकारको सम्पत्ति हुने गरि उक्त सम्पत्ति संरक्षण गर्न मन्त्रालयले भनेको हो ।

उचित स्थान र सुरक्षा प्रवन्ध गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (प) बमोजिम संरक्षण गर्न गराउनका लागि गोरखा नगरपालिकालाई लेखी पठाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।

मन्त्रालयको पत्रबारे जानकारी गराउन तथा क्‍वार्ज क्रिष्टलको ब्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालले शनिवार सर्वपक्षीय छलफल पनि गर्नुभएको छ ।

छलफलमा धारणा राखेका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, ब्यवसायी, पत्रकार र सामाजिक संघसंस्थाका प्रतिनिधिले पनि गोरखकाली मन्दिर परिसरमा उक्त पत्थर राख्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

सोही अनुसार गोरखकाली मन्दिर र गोरखा दरवारको बिचमा रहेको रंगमहलको भूईंतल्लाको छिंडीमा आवश्यक सुरक्षा प्रबन्धसहित क्‍वार्ज क्रिष्टलको संरक्षण गरिने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।

छलफलमा सहभागी धेरैजसोले क्रिष्टलको संरक्षण र सुरक्षाका सम्बन्धमा राखेको चासोबारे प्रमुख जिल्ला अधिकारी दाहालले क्‍वार्ज क्रिष्टलको विषयमा यो अन्तिम बैठक हो भन्दै अब मन्त्रालयको निर्णय कार्यान्वयन गरिने बताउनुभयो । पत्थरको सुरक्षाको ब्यवस्थापन जिल्ला सुरक्षा समितिले गर्ने पनि उहाँको भनाई छ ।

मन्त्रालयको निर्णय अनुसार क्‍वार्ज क्रिष्टल संरक्षण र ब्यवस्थापनको जिम्मा गोरखा नगरपालिकाले पाएको छ । नगरप्रमुख कृष्णबहादुर रानाले पारदर्शी सिसाभित्र सबैले देख्ने गरि क्रिष्टल राखिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गोरखा नगरपालिका ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरमा रहको उक्त पत्थर गत असार १४ गते बरामद गरेको थियो ।

लाखौं रुपैयाँमा टल्कने ढुंगा खरीद बिक्रीका लागि मोलमोलाई भैरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.