समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराउनुभएको हो ।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराउनुभयो । कांग्रेसका सांसद दिक्पालकुमार शाहीले सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले सुन तस्करीको विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले जलवायु परिवर्तनका कारण देश प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाआर्कषण गराउनुभयो । उहाँले मुलुकमा आगलागीका घटना बढेकोप्रति चिन्ता प्रकट गर्नुभयो । “नेपालका सम्पूर्ण वन आगजनीको अत्यन्त खतरामा छन् । सिङ्गो सरकार देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्था र नागरिक समाजलगायत सुरक्षाकर्मी सबैले वन तथा गाउँघरमा लाग्ने आगलागी नियन्त्रणका लागि लाग्नुपर्दछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले ललितपुरको सातदोबाटो–धापाखेल पाँच किलोमिटर सडक विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्नुभयो । एमालेका सांसद दामोदर पौडेल बैरागीले पोखरालाई पर्यटक राजधानीको रुपमा घोषणासँगै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा परिसरका प्राकृतिक एवं ऐतिहासिक महत्वका स्थानलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्नुभयो ।

कांग्रेसका सांसद दीपक खड्काले सङ्खुवासभालगायत जिल्लामा बाढीबाट विस्थापितप्रति सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो । सङ्खुवासभाको किमाङथाङ नाकामा जाने बाटो तत्काल खुलाउन उहाँले माग गर्नुभयो ।

कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्धारीका किसान ३९ दिनदेखि आन्दोलनरत रहेका भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न माग गर्नुभयो ।

एमालेका सांसद दिपा शर्माले हुलाकी राजमार्गअन्तर्गत बाँके जिल्लामा पर्ने सडकखण्डको खुल्न बाँकी ट्र्याकका लागि बजेटको व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा प्रयाप्त जनशक्ति व्यवस्थापनको माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता प्रकट गर्दै सडकको स्तरोन्नति, सवारी साधनको सिटभार निक्र्यौल र निगरानी गर्न माग गर्नुभयो । कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यानको निर्माण गर्ने योजनालाई प्राथमिकताका साथ राष्ट्रिय गौरवको योजनाामा समावेश गर्न माग गर्नुभयो ।

कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुङको सडक निर्माणप्रति सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले पालिका जोड्ने सडकखण्ड अलपत्र परेको भन्दै चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी कामलाई तीव्रता दिन माग गर्नुभयो ।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी जिल्लामा थारु संस्कृति विकास तथा प्रशिक्षण केन्द्र स्थापनाका लागि बजेट उपलब्ध गराउन माग गर्नुभयो । उहाँले रामग्राम नगरपालिकामा कुस्ती कबड्डी खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

कांग्रेसका सांसद नागिना यादवले रुग्न अवस्थामा रहेका नौ उद्योग पुनः सञ्चालन अघि लागत प्रतिफल अनुमान गर्नुपर्ने बताउनुभयो । एमालेका सांसद नारायणप्रसाद आचार्यले सदनमा उठेका विषयमा सम्बोधन नभएको भन्दै रुलिङ्का लागि सभामुख समक्ष माग गर्नुभयो । उहाँले देशभरका विभिन्न राजमार्गको मर्मत गर्नुपर्ने मागसमेत गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भारतसँग सिमा जोडिएको दाङ्को गडुवा गाँउपालिका–८ को नाकास्थित ४८ नम्बरको सिमा स्तम्भ खोलाले बगाएको भन्दै उक्त स्थानमा पुनः सिमास्तम्भ निर्माण गर्न माग गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.