राहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल जाने

काठमाडाै‌ – पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल जाने भएको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासको टोली यही मार्च २४ मा पोर्चुगल आउने भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले एक सातासम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने जनाइएको छ ।
पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो ।

टोलीले राहदानी हराएका, क्षति भएका तथा २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएकाहरुको राहदानीका लागि दरखास्त सङ्कलन गर्ने राजदूत भट्टराईले बताउनुभयो । यस्तै पोर्चुगलको अध्यागमन निकाय (आईमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका र हुर्केका बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।

विद्युतीय राहदानीका लागि समय लिन र अनलाइन फारम भर्न सेवाग्राहीलाई दूतावासले आग्रह गरेको छ । राहदानी सेवा शिविर मार्च ३१ सम्म सञ्चालन हुने बताइएको छ । गतवर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

टोली आउने भएपछि नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाएर समस्यामा परेका नेपालीलाई राहत हुने भएको छ । पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय (आईमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी लाभान्वित हुने भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.